Latest Updates :

भद्रगोलका जिग्री भन्छन ‘भाउजू पहिलो महिला प्रधानमन्त्री बनेको हेर्ने धोको छ’


SHARE THIS POST :
सुन्तलीसँगको पहिलो भेट

सुन्तली अर्थात कुञ्जना घिमिरेको जन्म दिनमा जिग्रीले नेपालखबरसँग गफिदै आफ्नो उनीसँगको पहिलो भेटबारे यसरी सम्झिएः हामी त्यतिबेला थापाथलीमा डेरा लिएर बस्थ्यौँ। म पढ्दै थिएँ। धुर्मुस दाइ र कुञ्जना भाउजु धुर्मुस सुन्तलीबाट चर्चित भइसक्नु भएको थियो।

त्यतिबेला धुर्मुस दाइ बिरामी भएकाे २/४ दिन नै भइसकेको थियो। दाइलाई भेट्नलाई सुुन्तली भाउजू आउनु‘भो। पर्दामा गाउँले, चञ्चले छुट्टै किसिमको लाग्याथ्यो। हाम्रो कोठामा आउनुहुँदा त पुरै सिनेमाको हिरोइन जस्तो भएर आउनु‘भो। म त छक्क परेँ। पर्दामा गाँउकी युवती देखिने सुन्तली पुरै आधुनिक, मोडलजस्ती लाग्यो। पुरै १८० डिग्रीमा पुग्ने गरी चेन्ज पाएँ नि।

भाउजूको प्रशंसा गर्दै उनी थप्छन्ः ‘त्यतिबेला लाग्यो सुन्तलीमा कलाकारिताको ज्ञान असाधारण छ। जुन पात्रमा छिर्यो त्यसैमा डुब्ने क्षमताबाट म अत्यन्त प्रभावित भएको थिएँ।’

जब दाइसँग ‘लभ’ परेको थाहा पाएँ

आफ्नो दाइको ‘लभ अफेयर’ सुन्तलीसंग छ भनेको पहिलोपटक सुन्दा कस्तो लाग्यो होला जिग्रीलाई? केही उत्साहित हुँदै उनी भन्छन्ः ‘दाम्मी लाग्यो। हुन त उहाँहरु ‘मेरी बास्सै’बाट धुर्मुससुन्तली जोडिको रुपमा प्रख्यात भइसक्नु भएको थियो। लाखौँ दर्शक शुभचिन्तकहरुले पनि साँच्चैको जोडी ठान्नुहुन्थ्यो र थाहा पाउनेहरुले जीवनसाथी बनेँ भनेर आशीर्वाद दिन थालिसक्नु भएको थियो। यस हिसाबले सबैको माया, आशीर्वाद पाएको जोडी लभमा छ भनेर थाहा पाउँदा त म दंग थिएँ। लाग्यो, मेरो दाइलाई बुझ्ने, सुहाउने एक योग्य भाउजू फेला पर्यो।’

आफ्नो भनाइमा थप जोड दिँदै जिग्रीले भने,‘यदि कलाकारभन्दा अन्य क्षेत्रको मान्छे भएको भए दाइको कामलाई नबुझ्न सक्थ्यो। राम्रा कलाकार एक हुँदा त झन राम्रो भयो नी होइन?’ उनले प्रतिप्रश्न गरे।
बिहेजस्तो नै लागेन

आफ्नी भाउजूका बारेमा बोलीरहेका जिग्रीलाई दाजुभाउजू बिहेको मण्डपमा बस्दा कस्तो देखिया भनि सोधेको प्रश्नमा उनी भन्छन्, ‘निकै सुन्दर जोडी। एकअर्काको प्रेममा चुर्लुम्म डुबेको जस्तो। (हाँसो) तर मलाई त्यतिबेला दाइ भाउजूको बिहे भइरहेको जस्तो नै लागेन मेरी बास्सैको कुनै दृश्यको छायांकन गरेको जस्तै लागिरहेको थियो।’ किन त? उनी भन्छन्, ‘मैले कुञ्जनालाई विवाह हुनुभन्दा पहिले नै श्रद्धापूर्वक भाउजु मानिसकेको थिएँ। त्यो त हाम्रो समाजको रीतिथिती, संस्कार र सस्कृति अनुसारको नियम मान्दै समाजको लागि केही औपचारिकता पूरा गरेको जस्तो मात्रै लाग्यो।’

भाउजू मेरी आमा, दाइ मेरो बुबा

जिग्री उर्फ कुमार कट्टेलले कुञ्जना घिमिरेलाई आफ्नो जन्मदिने बुवाआमा पछिको स्थानमा राख्दै आफू सत्कर्मको बाटो देखाउने कर्म आमाको उपमा दिए। भावुक बनेका जिग्रीलाई ठट्यौली शैलीमा हामीले सोध्यौँ, भाउजूलाई दाइभन्दा अघिल्लो स्थानमा?’ उनले पनि तात्तातो जवाफ फर्काए, ‘मेरी कर्म दिने आमा भाउजू भए भने मेरो दाइ कर्मबुबा भए?’ जिग्रीले दाजु र भाउजूले जहिले पनि आफूलाई सत्कर्म र देशको लागि केही गर्नुपर्छ भन्ने उर्जा र प्रेरणा दिएको हुँदा उनीहरु आफ्नो लागि जन्मदिने बाआमा पछिको अर्को बाआमा भएको बताए।
भाउजूसँग झगडा

अधिकांस समय भाउजू सुन्तलीको प्रशंसा र चर्चामा शब्द खर्चेका जिग्रीले भाउजुसँगको केही विवादका दिनहरु पनि सम्झिए। उनी भन्छन्ः भाउजू एकदमै निडर, आत्मविश्वासी र एक दरिलो अभिभावक हुनुहुन्छ। उहाँको दूरगामी सोँच छ। जुन बेलामा म आफ्नो करिअरलाई लिएर चिन्तित थिएँ। यो गर्ने कि त्यो गर्ने भनेर दोधारमा थिएँ। त्यतिबेला भाउजूले बाटो देखाउनु हुन्थ्यो।

उहाँको सल्लाह र सुझावभन्दा पनि म चाँडो परिणाम खोज्ने भएर होला हाम्रो कही वादविवाद चाहिँ हुन्थ्यो। परिवारमा ठूलै झैझगडा हुने भन्दा पनि मेरो भविष्यको लागि उहाँहरुले राम्रो सोच्नुहुन्थ्यो। त्यो बेलामा म पनि त परिपक्व भएको थिइनँ। भाउजूको सरसल्लाहको सार बुझ्न सक्दिनँ थिएँ। किन भने हामीलाई चाँडो परिणाम चाहिन्छ। उहाँहरु भने भविष्यसम्मको कुरा सोच्नु हुन्छ। त्यही भएर उहाँसँग मेरो डिभेट चल्थ्यो। उमेर पनि त हो नि।
सायद उहाँले देखाएको सत्मार्गको कारण मैले आज कलाकारितामा सानो नाम लेखाएको छु जस्तो लाग्छ।

सुन्तलीविनाका धुर्मुस
यदि सुन्तली विनाको धुर्मुस कस्तो हुन्थ्यो होला?प्रश्न भुँइमा खस्न नपाउँदै उनले भने, ‘तपाई यस्तो कुरा नगर्नु न। सुन्तलीविनाको धुर्मुस पनि हुन्छ? भइसक्यो त। यो जोडीको माया प्रेम र साथ हेर्दा लाग्दैन तपाईलाई?’

हामीले भन्यौ एक चोटी कल्पना गरौँ न।यदि धुर्मुसको जीवनमा सुन्तली नभएको भए के हुन्थ्यो होला? यसको सहज जवाफ दिँदै उनले भने, ‘अहिलेको जस्तो धुर्मुस–सुन्तली नाममा धुर्मुस मात्रै हुन्थ्यो होला। सामाजिक अभियन्ताको हिसाबले दाइले जुन चर्चा र सफलता प्राप्त गर्नुभएको छ त्यो स्थान प्राप्त गर्न अझै केही वर्ष लाग्ने थियो होला। अझ दाइको कलाकारिता यात्रा र सामाजिक सेवाको काम यति उचाइमा पुग्दैनथ्यो होला। मेरी भाउजू हुनुहुन्थ्यो र आजको यो स्थान बनाउन दुवैजना सफल भएका छन्।’

भाउजू पहिलो महिला प्रधानन्त्री बनेको हेर्ने धोको
अन्त्यमा कुञ्जना घिमिरे सुन्तलीलाई देवर जिग्रीले नेपालको पहिलो महिला प्रधानमन्त्री भएको हेर्ने चाहना राखेका छन्। जन्मदिनको शुभकामना दिँदै जिग्रीले आफ्नी भाउजुमा आत्मविश्वास, देशभक्त, शीघ्र निर्णय क्षमता, कुसल वक्ता, निडर व्यक्तित्व भएकाले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने क्षमता भएको बताउछन्। देश र समाजलाई माया गर्ने दयालु सुन्तलीलाई प्रधानमन्त्रीको अवसर पाए महिलाले नि कार्यकारी भएर काम गरेर देखाउन सक्छ भनेर नमुना उदाहरण प्रस्तुत गर्न सक्ने उनले दावी गरे। नेपाल खबर बाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger