पूजाआजापछि सोनिशलाई चिउरा, मासु, तरकारी, उसिनेको अण्डा दहीलगायतका खाद्य परिकार राखी सगुन दिइएको थियो। सगुनपछि बालक सोनिशलाई ती खानेकुरा खान दिइएको थियो। सगुन दिने क्रममा रश्मिलाले उनलाई ‘देशका लागि काम गर्न सक्षम बन्नू’ भन्ने आशीर्वाद दिएकी थिइन्।
नेवारी परम्परा अनुसार बालबालिका पाँचौ वर्ष प्रवेशका अवसरमा विशेषरूपमा जन्मदिन मनाइन्छ। त्यस वर्ष मामाघरतिरबाट बालबालिकाका लागि नयाँ लुगा एक जोरसहित दही ल्याई पूजाआजा गरिदिई जन्मदिन मनाउने गरिन्छ।
सोनिशको जन्मदिनका लागि मामाघरतिरकी आन्टी स्नेहा प्रजापति सोनिशको डेरामा बिहानै सगुन लिएर आएकी थिइन्। नेवार समुदायमा एक वर्ष र तीन वर्षमा जन्मदिन नमनाइने परम्परा छ। चौथो वर्षमा मामाघरबाट ल्याएको सगुन दिई जन्मदिन मनाएपछि प्रत्येक वर्ष जन्मदिन मनाउन सकिन्छ।
आर्थिक अवस्था कमजोर भएकाले सामान्यरूपले सोनिशको जन्मदिन मनाएको पिता श्यामले बताए। सोनिसको परिवारमा सोनिशसहित आमा रश्मिला, बुबा श्याम, दिदी सोनिया गरी चार जनाको परिवार छ। चार जनाको उनको परिवार अहिलेसम्म पनि एउटा कोठाको भाडामा बसिरहेका छन्। त्यही कोठामै भान्छा र सामान्य सिलाइका लागि एउटा टेलर्स पनि छ।
सोनिशको परिवारले अहिलेसम्म भूकम्पले भत्केको घर बनाउन पाएको छैन। भूकम्पले भत्केको पुरानो घरको जग्गाको लालपूर्जा नहुँदा उनीहरूले सरकारले दिएको पहिलो किस्ताको ५० हजारको अनुदान रकम पनि पाएका छैनन्। सानो टुक्राको जग्गा पनि चार दाजुभाइको संयुक्त हो, जुन अहिले बाटोको मापदण्डमा परेको छ। सोनिश यो वर्षदेखि भक्तपुरस्थित एभरेस्ट इङलिस स्कुलमा पढ्दैछन्। उनलाई एभरेस्टले निःशुल्क पढाइरहेको छ।
Post a Comment