Latest Updates :

कालिकोटमा भीषण आगलागी, पलाताको एक गाउँ पूरै जलेर नष्ट


SHARE THIS POST :
कर्णाली प्रदेशकाे दुर्गम जिल्ला कालिकाेटमा भीषण अागलागी हुँदा एउटा गाउँ नै नष्ट भएकाे छ । कालिकाेटकाे पलाता गाउँपालिकाकाे वार्ड नं १ खाडा गाउँ यसरी जलेर नष्ट भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कालिकाेटले आइतबार राति अकस्मात अागलागी हुँदा यति ठूलाे क्षति भएकाे जानकारी दिएकाे छ । रातीबाट सुरु भएकाे अागलागी बिहान अबेरसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा अाउन सकेकाे थिएन । थिर्पु र पचालझरनाबाट गएको प्रहरी टोली र स्थानीयबासिन्दाको प्रयासमा बिहान साढे ९ बजेतिर आगलागी नियन्त्रणमा आएको थियाे ।

पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले सबै घर फुसको भएको र वरपर पानीका स्रोत नभएको सुक्खा क्षेत्र भएका कारण आगो नियन्त्रणमा लिन कठिन भएकाे बताए।

अागलागी अघि यस्ताे थियाे खाडा गाउँ

घटनास्थल कालिकोटको सदरमुकाम मान्मबाट २१ कोश टाढा बाजुरानजि रहेकाे छ । साथै गाउँबाट नजिककाे प्रहरीचौकी पुग्न पनि तीन चार घण्टाको पैदल दूरी छ । आगलागीका कारण मानवीय क्षति भने भएको छैन तर धेरै मात्रामा पशु चौपायाहरु मरेको प्रहरीले जनाएको छ ।

गएराति करिब १० बजेदेखि अागाे लागेको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको थियाे । सुरुमा गाउँलेहरुले नै अागाे निभाउने प्रयत्न गरेका थिए । तर, नसकेपछि मात्र राती प्रहरीलार्इ खबर गरेकाे देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर राती दुर्इ बजेमात्र प्राप्त भएकाे बताए । उनले खबर पाउने बित्तिकै राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको उनले जानकारी दिए। त्यहाँबाट हिडेर प्रहरी बिहान मात्र घटनास्थल पुगेकाे थियाे ।

कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पलाँताको खाडामा भएकाे आगलागीकाे एकिन विवरण नअाएकाे बताए । उनले घटनास्थलमा टेलिफोन समेत नलाग्ने भएकाले पूरा विवरण नअाएकाे बताए ।

स्थानीयवासीका अनुसार पलाँताको खाडामा आगलागी नियन्त्रणका लागि खटिने मान्छेहरुको अभाव भएकाेले पनि यस्ताे समस्या अाएकाे हाे । उक्त गाउँका अधिकांश युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन्। गाउँ युवाबिहीन गाउँमा महिला, वृद्ध–वृद्धा केटाकेटी मात्र रहेका बताइएकाे छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger