Latest Updates :

सेती अञ्चल अस्पतालमा आफ्नै उपचार गर्न आएकी पार्वतीले अस्पतालमै श्रीमान गुमाइन्


SHARE THIS POST :
सेती अञ्चल अस्पतालको दोस्रो तलास्थित अर्थोपेडिक वार्ड, वेड नम्बर ३० मा ४० वर्षीया पार्वती दमाइ सुतिरहेकी थिइन्। उनी १२ दिनदेखि सो अस्पतालमा उपचाररत छिन्। बैतडीको पाटन नगरपालिका– ५ घर भएकी पार्वतीको घाँस काट्ने क्रममा रुखबाट लडेर खुट्टा नचल्ने भएको थियो।

‘घाँस काट्दा रुखबाट लडें। खुट्टा नचल्ने भएको छ। श्रीमानले अस्पताल ल्याइदिएका थिए,’ उनले विगत सम्झिइन्। हामी उनी भर्ना भएको बेडमा जाँदा उनको आँखामा आँसु थियो। एकातिर खुट्टा नचल्दा समस्या झेलिरहेकी उनी मंगलबार नै आफूलाई कुरिरहेका श्रीमानको मृत्युको खबरले स्तव्ध थिइन्। उनका ४२ वर्षीय श्रीमान धनी दमाइलाई लामो समयदेखि रोगले सताएको भए पनि उपचार नगर्दा मृत्यु व्यहोर्नु परेको थियो।

‘मेरो खुट्टा रुखले गर्दा नचल्ने भयो। खुट्टाको उपचार गराउन आएकी मैले अस्पतालमै श्रीमान गुमाउनुपर्‍यो,’ भक्कानिदै उनले भनिन्,‘म पनि श्रीमानसँगै जान चाहन्छु।’

‘अचानक धनीले पेट दुख्यो भन्न थाल्नुभयो। हामीले चेकजाँच गराउन आग्रह गरेका थियौं,’ उनको उपचारमा संलग्न अस्पतालका डाक्टर सुरेन्द्र बस्नेतले भने, ‘रोग के हो पत्ता लाग्न सकेको थिएन।’ उनका अनुसार धनीलाई सेतीमा सोमबार दिउँसो भर्ना गरिएको थियो। ७स्३० बजेतिर अप्रेसनको तयारी गरिएको थियो।

डाक्टर बस्नेतका अनुसार धनीको उच्च रक्तचाप रहेकाले सो समयमा अप्रेसन गर्न नसकिएको बताउँदै उनले भने, ‘बिरामीले छोरा आउन लागेकाले बिहानसम्म कुर्न हामीलाई आग्रह गरेका थिए।’ बिरामी धनीको मंगलबार बिहान साढे ३ बजे अस्पतालमै मृत्यु भएको थियो।

डाक्टर बस्नेतले उनको आन्द्रा बेरिएको वा पेटभित्रको कुनै अंगमा असर भएको हुनसक्ने बताए। डाक्टर बस्नेतले बिरामीलाई यो समस्या लामो समयदेखि भएको हुनसक्ने बताए। ‘यो समस्या एक्कासि भएको भने होइन। पहिलेदेखि नै भएको हुनसक्छ,’ उनले भने।

अस्पतालमा भर्ना भएकी पार्वतीको उपचारका लागि अहिलेसम्म श्रीमानले खर्च गरेका थिए। श्रीमान गुमाएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको उनले बताइन्।

सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, ‘पार्वतीको सबै उपचार अस्पतालले निःशुल्क गर्ने छ।’ पार्वतीको खुट्टामा रड राख्नुपर्ने देखिएको जनाइएको छ। पान्डेले सामाजिक सुरक्षा इकाइमार्फत उनलाई आवश्यक औषधि, उपचार सामाग्रीहरु व्यहोर्ने बताए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger