निर्मलाको शव भेटिएकै दिन साउन ११ गतेबाट हराएका उनकै छिमेकी २२ वर्षीय युवक पक्राउ गरेको समाचारलाई सीआइबीले खण्डन गरेको हो ।
ब्यूरोका प्रमुख डीआइजी निरजबहादुर शाहीले निर्मला प्रकरणमा अनुन्सन्धान निरन्तर र गहनरुपमा भइरहेको बताउँदै तर बुधबार कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए ।
‘हाम्रो टोली काठमाडौँ र कञ्चनपुर दुवै स्थानमा संयुक्तरुपमा अनुसन्धानमा केन्द्रित छ, यसक्रममा आवश्यक सोधपुछ भने भइरहेको छ’, डीआइजी शाहीले अन्नपूर्णसँग भने, ‘निर्मलाका छिमेकी युवक बुधबार पक्राउ परेको भन्ने समाचार गलत हो, हामीले कसैलाई पनि नियन्त्रणमा लिएका छैनौँ ।’
साउन ११ गतेदेखि गाउँबाट भागेर भारत पसेका भनिएका युवक काठमाडौँबाट पक्राउ परेको समाचारबारे आफूलाई कुनै जानकारी नभएको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले बताए ।
‘केही दिनयता कोही पनि पक्राउ परेको जानकारी हामीसँग छैन, तर अनुसन्धानका क्रममा सोधपुछ गर्ने क्रम भने भइरहेको छ’, प्रवक्ता सुवेदीले भने, ‘हामी विभिन्न कोणबाट अनुसन्धानमा जुटेका छौँ, सवुत प्रमाण नभेटिएसम्म कसैलाई पनि आरोपित बनाउने अवस्था छैन । काठमाडौँबाट यस घटनासँग जोडिएका कुनै युवा पक्राउ गरेको जानकारी मलाई सीआइबीबाट प्राप्त भएको छैन ।’
यो प्रकरणमा प्रहरीले विभिन्न टोली कञ्चनपुर पठाएर अनुसन्धानलाई अहिले पनि जारी राखेको छ । सीआइबी, अपराध अनुसन्धान महाशाखा र अपराध अनुसन्धानको दक्ष टोलीलाई कञ्चनपुर र काठमाडौँमा समन्वय गराएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा निर्मलाको गाउँ उल्टाखाबाट घटना आसपासको समयमा हराएका व्यक्तिहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ । त्यहाँबाट घटनाको समयमा गायब भएका युवाहरुको खोजीका लागि प्रहरीको टोली भारतसम्म पुगेको स्रोतको दाबी छ ।
निर्मलाका हत्यारा पक्राउ गर्न माग गर्दै देशभर प्रदर्शन र पोस्टर अभियान चलिरहेका बेला प्रहरीले आफ्नो सबै शक्ति यसमा केन्द्रित गरेको छ । ‘यो केश शुरुबाटै बिग्रिएको छ, सवुत प्रमाणहरु नष्ट गरिएकाले अनुसन्धान जटिल बनेको छ । त्यसमाथि अनावश्यक राजनीतिक र अन्य दबाबले काम गर्न कठिन भएको छ’, नेपाल प्रहरीका एक अधिकारीले भने, ‘पछिल्लो समय स्थानीयले पनि असहयोग गरेका कारण केश थप जटिल भएको छ । तर अनुसन्धानका सबै विधि यसमा लगाइएको छ ।
प्रहरी स्रोतले अनुसन्धान लम्बिँदै गएपछि यो प्रकरणमा शक्तिशाली व्यक्तिका आफन्त संलग्न भएको कुराको पनि खण्डन गरेको छ । ‘बाहिर आए जस्तो यस केशमा उच्च तहका व्यक्तिका नातेदार संलग्न भएको कुरामा सत्यता छैन’, ती अधिकारीले भने, ‘तर प्रहरीले नै घटनास्थल प्रकृति मुचुल्का उठाउँदादेखि नै गल्ती गरेकाले हामी जटिल अवस्थामा पुगेका छौँ ।’
यो प्रकरणमा प्रहरीले अहिलेसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित नौजनाको डीएनए परीक्षण गरेको छ । तर ती सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । एसपी विष्ट कञ्चनपुरमै हुँदा पक्राउ गरी मुख्य अभियुक्तकारुपमा प्रस्तुत गरिएका दीलिपसिंह विष्टको पनि डीएनए नेगेटिभ आएको थियो ।
प्रहरीले निर्मला प्रकरणमा गम्भीर अनुसन्धान नगरी दोषी उम्काएको भन्दै चार महिनादेखि देशभर आन्दोलन चलिरहेको छ । केही सातायता निर्मलाका लागि न्याय भन्दै थालिएको पोस्टरिङ अभियानले प्रहरी अझ दबाबमा परेको छ ।
Post a Comment