Latest Updates :

यो भिडियो सबै नेपालीले एकचोटी हेर्नुहोला (भिडियो ब्लग)


SHARE THIS POST :
दुलही भित्र्याउन सिंगारिएको घरबाट शव निकाल्ने तयारी शोकमा डुब्यो ओभरी गाउँ, जन्ती बन्ने भए मलामी

बाँकेको समशेरगञ्जस्थित ओभरी गाउँ शोकमा डुबेको छ। बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलाहाका बाबुआमासहित ६ जनाको मृत्युको खबरले शोकमा डुबेको हो।

बिहीबार बिहानै दाङमा भएको दुर्घटनामा परी चितवनबाट दुलही ल्याएर फर्कदै गर्दा दुलाहाका बाबुआमा र आफन्तसहित ६ जनाको मृत्यु भएको थियो।

त्यो खबर सुनेलगत्तै ओभरी गाउँमा सन्नाटा छाएको छिमेकी ६२ वर्षीय प्रजित बिष्टले बताए। ‘मलाई पनि दुलाहाका बाबु मानबहादुर केसीले जन्ती जान खुबै कर गर्नुभएको थियो, बिसञ्चो भएकाले छोरालाई जन्त पठाएँ,’ बिष्टले सेतोपाटीसँग भने, ‘कान्छो छोराको बिहेपछि घरगृहस्थीको बोझ त्यागेसरह हुन्छ भन्नुहुन्थ्यो, आफ्नै प्राण सदाको लागि त्यागेर जानुभएछ।’

दुलाहाका बाबु अर्थात् ५३ वर्षीय मानबहादुर केसी राप्ती सोनारी गाउँपालिका वडा नं. ८ स्थित शिव शक्ति मावि तेरानीका शिक्षकसमेत हुन्।

केसीले आफ्नो कान्छो छोरा यज्ञबहादुर केसीको बिहेको लागि गाउँभर निम्ता बाँडेका थिए।

‘उहाँहरु बूढाबूढी नै वैष्णव हुनुहुन्थ्यो,’ बिष्टले भने, ‘सायद दैवले पनि असल मान्छेलाई छिट्टै लैजान्छ क्यारे, उहाँहरूको आत्माले बैकुण्ठमा बास पावस्।’

उनले आफ्नै छिमेकीको घरमा बिहेको उत्सवमय वातावरण एकाएक नाटकीय ढंगले शोकमा परिणत भएको हृदयविदारक घटना शब्दमा वर्णन गर्न नसकेको सेतोपाटीको फोन सम्पर्कमा भने।

बिहेको उल्लासमा रमाइरहेका आफन्त, पाहुना र छरछिमेक आँशुमा डुबेको बिष्टले बताए।

‘बिहेमा बज्नुपर्ने गीत संगीत र बाजाको ठाउँमा उल्टो शंख फुक्नुपर्ने यो कस्तो कारूणिक घटना भयो,’ बिष्टले भने।

राप्ती सोनारी गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले अकल्पनीय र दुःखद घटनाले सिंगो वडा नै शोकमा डुबेको बताए।

उनले शमशेरगन्जका बजार, विद्यालय सबै शोकमा बन्द भएको जानकारी दिए। वडाअध्यक्ष बस्नेतका अनुसार ओभरी गाउँमा बिहीबार एकाबिहानै अर्को पनि एउटा दुःखद घटना भएको हुँदा पीडामाथि पीडा थपिएको छ।

सोही गाउँ निवासी एक जना जेष्ठ नागरिक दलबहादुर थापाको घरको छतबाट खसेर मृत्यु भएको उनले जानकारी दिए।

‘ओभरी गाउँमा आज सन्नाटा छाएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘गाउँलेहरू आपसमा बोल्नै नसक्ने अवस्था छ। एकले अर्काको मुखमा हेर्ने र आँशु बगाउनेबाहेक यहाँ केही छैन।’

उनले बिहीबार बिहानै ओभरी गाउँबासीलाई सान्तवना दिन राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरी पनि आएको जानकारी दिए।

गाउँपालिका अध्यक्ष र आफूले पनि गाउँले र मृतकका आफन्तलाई सम्झाइबुझाई गरेको तथा विपतको घडीमा धैर्यता राख्न आग्रह गरेको वडा अध्यक्ष वस्नेतले जानकारी दिए।

उनले गाउँलेहरूलाई सम्झाउँदै मृतकलाई आजै दाहासंस्कार गर्नका लागि तयारीमा लाग्न आग्रह गरेको जानकारी दिए।

‘हामी आज एकदमै पीडामा छौं सायद यति भारी विपत अब ओभरीमा कहिलै आउने छैन,’ अध्यक्ष बस्नेतले थपे, ‘तर, जति ठूलो बज्रपात परे पनि सहनुको विकल्प छैन, अब गाउँले सबैले मृतकको व्यवस्थापन गर्नै पर्छ।’

उनले दिउँसो २ बजेसम्ममा दाङबाट शव ल्याई पुर्‍याउने र आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको जानकारी दिए।

बिहीबार बिहान ४ बजे घटनाबारे जानकारी पाएलगत्तै आफू कोहलपुरस्थित मेडिकल कलेजमा पुगेको र त्यहाँ सिटीस्क्यान सम्भव नभएपछि घाइतेको उपचारको लागि नेपालगञ्जस्थित नरसिंह कलेजमा लगिएको बस्नेतले बताए।

थोरै सावधानी अपनाउँदा दुर्घटना टर्न सक्थ्यो–वडा अध्यक्ष

वडा अध्यक्ष बस्नेतले थोरै सावधानी अपनाउन सकेको भए यो दुःखद दुर्घटना टर्न सक्ने धारणा राखे। ओभरीबाट २५ गते राति चितवनको लागि जन्ती प्रस्थान गर्नु र २६ गते राति नै फर्कनुले चालक निदाएको हुनसक्ने उनले अनुमान लगाए।

‘बिहेको माहोलमा चालकले राम्रोसँग सुत्न पाए पाएनन्, त्यो ख्याल नगरी रातारात फर्कनुभन्दा बिचमै बास बसेको भए सायद यो दुःखद घटना हुने थिएन कि,’ उनले भने।

त्यसमा पनि दुलाहाका बाबु आमा छिट्टै घर पुगेर जन्तीको व्यवस्थापन गर्ने सोचका साथ तीव्र गतिमा आउन खोज्दा दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ।

त्यस्तै उनले हिउँदमा तराईमा बाक्लो हुस्सु लाग्ने हुँदा त्यो पनि दुर्घटनाको प्रमुख कारण हुने भन्दै चालक सबैभन्दा सचेत बन्नुपर्ने बताए।

दुर्घटनाको कारण ओभर स्पिड – एसपी पाण्डे

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले ओभर स्पिडका कारण दुर्घटना भएको बताएका छन्।

दुर्घटनास्थलमा अनुसन्धान गर्दा त्यस्तो देखिएको उनले बताए। ‘स्कारपियो गलत लेनमा गएर ठोक्किएको छ, बस चालकको कुनै गल्ती नै देखिँदैन,’ एसपी पाण्डेले सेतोपाटीलाई भने, ‘सायद ओभरस्पिड भएको हुँदा स्कारपियो चालकले त्यो नियन्त्रणमा लिनै सकेनन्।’

चालक निदाएको हुनसक्ने अनुमान मात्रै गर्न सकिने बताएका एसपी पाण्डेले दुर्घटनाको मुख्य कारण ओभरस्पिड नै भएको दाबी गरे।

‘त्यती बिहानै हुस्सु बाक्लो थिएन भन्ने अन्य यात्रुले बताएका छन्, त्यसैले दुर्घटनाको कारण ओभर स्पिड नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ,’ एसपी पाण्डेले भने।

तर उनले दुई तीन दिनदेखि चालकले नियमित रुपमा स्कारपियो चलाउँदै आएको हुँदा थाकेको हुनसक्ने वा अनिदो पनि हुन सक्ने कुरा भने नकार्न नमिल्ने धारणा राखे। चालक पनि गम्भीर अवस्थामा उपचाररत रहेको हुँदा दुर्घटनाको कारणबारे सोधपुछ गर्न प्रहरीले नपाएको उनले सेतोपाटीलाई बताए ।

चितवनबाट दुलही लिएर फर्किदै गरेको स्कार्पियो यात्रुबहाक बससँग ठोकिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परि राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रबिण केसीको मृत्यु भएको छ।

त्यस्तै सोही ठाउँकै ४९ वर्षिय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबाहदुर खत्रीको पनि दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट दुलही लिएर बाँकेको समशेरगञ्जस्थित घरतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबहाक बस एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी स्कार्पियो चालक सम्शेरगञ्जकै २१ बर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

घाईते मध्ये खत्री खतरा मुक्त रहे पनि चालकको अवस्था गम्भीर रहेको र उनीहरूको नेपालगञ्ज नरसिंह कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार स्कारपियोमा जम्मा ८ जना मात्रै सवार थिए। त्यसमध्ये ६ जनाको मृत्यु भएको र दुई जना घाईते रहेको प्रहरीले जानकारी दिएको छ।

बेहुला बेहुली भने छुट्टै गाडीमा पछाडि आउँदै थिए ।

दुर्घटनाको कारण थाहा नभए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger