Latest Updates :

सुन्दर डाँडाकाँडा रहेकाे चोभारमा पर्यटक खचाखच


SHARE THIS POST :
ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो ।

ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व रहेको सुन्दर डाँडा चोभारबाट देखिने उपत्यकाका विभिन्न दृष्य तथा आकर्षक मञ्जुपार्क, प्रेमिल जोडीसहित विभिन्न स्थानमा वनभोजमा रमाउँदै गरेका मानिस, मञ्जुश्री गल्छीबाट सुसाउँदै गरेको वाग्मती नदीका साथै जलविनायक तथा आदिनाथको मन्दिर दर्शन गर्न पाउँदा उहाँमा निकै खुशी देखिन्थ्यो ।

“डाँडाकाँडा घुमियो, रमाइलो पनि लाग्यो, यो शान्त ठाउँ” मन्द मुस्कानमा नन्दरामले संक्षिप्त प्रतिक्रिया दिनुभयो । ललितपुरको बज्रबाराही नगरपालिका–४ ठेचोबाट आएका पर्यटक पनि छेवैमा बसेर वनभोजमा रमाउँदै थिए । ललितपुरका गोपाल महर्जन र नन्दबहादुर महर्जन पनि चोभारबाट देखिने दृष्यमा आनन्दित हुनुहुन्थ्यो ।

राजधानी काठमाडाँैको केन्द्रबाट करीब सात किलोमिटर दक्षिण–पश्चिम कीर्तिपुर नगरपालिका–४ मा चोभार पर्छ । यहाँको मञ्जुपार्कका दुई दर्जन बढी वनभोजस्थल गएको शनिबार भरिभराउ थिए । कतै युवा जोडीको प्रेम प्रणय देखिन्थ्यो भने कतै पारिवारिक जमघट पनि बाक्लै थियो । अन्य दिनमा पनि बाक्लै पर्यटक आउने चोभारमा बिदाको दिनमा भने भरिभराउ हुने गरेको बताउनुहुन्छ जलविनायक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष सुजिन्द्र महर्जन । “कहिले त दिनमा एक हजारसम्म पर्यटक आउँछन्, तीन चारसय सामान्य नै हो”, उहाँ भन्नुहुन्छ, “यहाँबाट खुला मौसमका बेला खुला आँखाले सगरमाथा देख्न पाइनु विशेषता नै हो ।”

जलविनायक सामुदायिक वन उपभोक्ता समूहको रेखदेखमा चोभारको संरक्षण र पर्यटन प्रवद्र्धनको काम भइरहेको छ । अहिले पार्क प्रवेशका लागि नेपालीलाई रु २० छ । गुफा घुम्न अवस्थाअनुसार १०० देखि ३०० सम्म तोकिएको छ । ९० रोपनी जमीनमा फैलिएको सो क्षेत्रमा पर्यटन बोर्डबाटै समन्वय गरेर पथ प्रदर्शक ९पर्यटन गाईड० समेत राखिएको छ । चलचित्र छायाँकनका लागि रू दुई हजारसम्म शुल्क छ । मञ्जु पार्कलाई चार हेक्टरमा व्यवस्थित गरिएको छ । निर्माणाधिन मञ्जुश्रीको विशाल प्रतिमाले पार्कको आकर्षमा कोशेढुङ्गा थपिदिएको छ । अहिले त पार्कलाई विस्तार गर्ने प्रक्रियामा रहेको कोषाध्यक्ष महर्जन बताउनहुन्छ ।

ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कीर्तिपुरको चोभारमा कतै गीतमा रमाउँदै, कतै खाना बनाउँदै, कतै नाचगान त कतै घुमघाममा रमाउँदै गरेका आन्तरिक पर्यटक हरेक दिन भेटिन्छन् । कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारबाट देखिने सुन्दर दृश्यसहित मञ्जुपार्क, बहँदै गरेको वाग्मती नदी, नदी छेबैको जलविनायक मन्दिर डाँडामाथि आदिनाथको मन्दिर, चोभारमा एक हजार २५० मिटर लामो गुफा पनि छ । आफैँमा धार्मिक तथा पर्यटकीय महत्वको स्थल अनुपम सङ्गम हो । चोभारका ती दृश्यले आगन्तुकलाई लोभ्याउँछ । केही नजिक रहेको टौदहमा बसाइँ सरेर साइबेरियाबाट आउने चराले आकर्षण थपेको छ ।

मौसम सफा हुँदा सगरमाथासमेत यहीँबाट देखिन्छ भन्दा धेरैलाई अनौठो पनि लाग्ला । विभिन्न प्राकृतिक सुन्दरताका कारण काठमाडौँको कोलाहलबाट मुक्त भएर मन शान्त पार्न पनि यहाँ पुग्ने धेरै छन् । चलचित्रको छायाँकनको समेत आकर्षक गन्तव्य चोभार युवा प्रेमिल जोडीको समेत आकर्षक गन्तव्य हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जन चोभार ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व बोकेको ठाउँ भएको बताउनुुहन्छ । पहिले काठमाडौँ उपत्यकामा दह थियो । चोभारको गल्छी छिनायो भने बस्ती बसाउन सकिन्छ भन्ने निष्कर्ष निकालेर चीनबाट तीर्थयात्रामा आएकी मञ्जुश्रीले खड्गले डाँडो काटेर पानी पठाएपछि काठमाडौँ बस्नयोग्य भूमि भयो भन्ने कथा रहेको उहाँ उल्लेख गर्नुहुन्छ । कालान्तरमा वाणासुरले पुनःपानी थुनी काठमाडाँैलाई जलमग्न गराएकाले द्वारकाबाट आएका कृष्णले उसलाई पराजित गरी पुनःबस्नयोग्य बनाएको किवदन्ती पनि छ ।

वैज्ञानिक अध्ययनअनुसार आजभन्दा ३० हजार वर्ष अगाडि काठमाडौँमा पानी धेरै थियो । चोभारको डाँडामा चट्टान कडा र नरम खालको पनि भएकाले पानीको तह बढ्दै गएपछि कमजोर भाग चोइटिंँदै गयो र पछि विस्तारै पानी कम भयो । आजभन्दा ११ हजार वर्ष अगाडि पानी निक्कै तल्लो तहमा पुगेको र त्यसको एक हजार वर्ष पछाडि आजभन्दा करीब १० हजार वर्ष अघिबाट भने मानव बस्ती बस्न थालेको अध्ययनमा उल्लेख भएको उहाँको भनाइ छ । यति मनमोहक हुँदा हुँदै पनि शहरको ढलका कारण चोभार गल्छीको दुर्गन्धले भने पर्यटकलाई केही खल्लो बनाउने गरे पनि गल्छी हेर्नकै लागि विभिन्न जिल्लाबाट समेत पर्यटक आउँछन् ।

वन समूहका अनुसार चोभारमा वार्षिक एक लाख २५ हजार बढी पर्यटक आउने गरेका छन् । अघिल्लो वर्षको तथ्याङ्कमा टिकटबाट मात्रै रु २५ लाख शुल्क उठेको थियो भने वनभोजस्थलबाट झण्डै रु १२ लाख सङ्कलन भएको थियो । क्षेत्र विस्तार हुँदै गएकाले अझै पर्यटक थपिने अनुमान स्थानीयले गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger