Latest Updates :

नवलपुरमा फेला पर्यो नेपालकै ठूलो फलामखानी


SHARE THIS POST :
 नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिका –४, का यमबहादुर रानालाई सदरमुकाम कावासोतीसम्म आउन अहिले निकै कठिन छ । हुप्सेकोटको पहाडी क्षेत्र रुम्सीसम्म पुग्ने बाटो जीर्ण रहेको छ ।

जसले गर्दा यो बाटो भएर आवतजावत गर्न निक्कै कठिन छ । हिउँदमा सामान्य रुपमा केही जीप चले पनि बर्खामा पैदल हिँड्नसमेत मुश्किल हुने गरी बाटो ठाउँठाउँमा बिग्रिन्छ । तर धौवादी क्षेत्रमा पत्ता लागेको फलाम खानीका कारण रानालाई यही बाटो पिच भएर सहज रुपमा यात्रा गर्न सकिन्छ भन्ने आशा भने मरेको छैन ।

हुप्सेकोट गाउँपालिकाको धौवादीमा पत्ता लागेको फलाम खानीका कारण रानालाई जस्तै यस क्षेत्र बासिन्दामा विकासको आशा जागेको छ । पूर्व–पश्चिम राजमार्गदेखि झण्डै १६ किलोमिटरको दूरीमा रहेको धौवादी क्षेत्रमा पत्ता लागेको फलाम खानीका कारण झ्यालबास, रुम्सी, रामकोट, पोखरी, ल्हापे, धौवादी क्षेत्रका बासिन्दालाई यस क्षेत्रको विकास हुन्छ भन्ने आशा जागेको छ । ‘हामी त फलाम खानीको बाटो पिच हुन्छ, बिजुली आउँछ , खानेपानीको सुविधा हुन्छ भनेर खुशी भएका छौँ’, रानाले हँसिलो अनुहार लगाउँदै भन्नुभयो ।

वि.सं. ०६८ सालामा आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी फेला पारेको थियो । पूर्वमा धौवादी र पश्चिममा नाम्जाकोट हुँदै दक्षिणमा रुम्सी र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको विज्ञहरुले जनाएका छन् । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ । धौवादीको फलाम खानी अहिलेसम्म फेला परेको खानीमध्ये नेपालकै ठूलो खानी भएको भूगर्भविदले बताएका छन् ।

धौवादीको फलामखानी सञ्चालनमा आए रोजगारी पाइएला भन्ने आशा लागेको छ रामकोटका जानुका सारुलाई । ‘हामीले यो फलामखानी चाँडो सञ्चालनमा आए हुन्थ्यो भन्ने सोचेका छौँ’, सारुले भन्नुभयो, ‘यसको सञ्चालनपछि कामका लागि दाजुभाइ विदेसिन नपर्ने, सबैले गाउँमा नै रोजगारी पाइएला भन्ने छ ।’

‘फलामखानीसम्म पुग्नेबाटो पिच हुन्छ, बिजुली आउँछ भनेका छन्’, सारुले कुरा थप्नुभयो, ‘हामी यस्तो कष्ट गरी बाँच्दै आएकालाई यस्तो विकास हुँदा हाम्रो गाउँ नै रमाइलो हुन्छ होला, जीवन नै सहज हुन्छ होला ।

धौवादीको फलामखानी आसपासका बस्ती र आउने जाने क्षेत्रमा अझै विद्युत पुग्न सकेको छैन । सडकको अवस्था जीर्ण रहेको छ, खानेपानीको सहज सुविधा छैन, उच्च शिक्षा अध्ययनका लागि बजार क्षेत्र धाउनुपर्ने बाध्यता रहेको छ । ‘हर कुराको समस्या छ, एउटाको मात्र होइन’, धौवादीका पूर्ण रानाले भन्नुभयो, ‘अब हाम्रो आशा यही फलाम खानी नै भएको छ ।’ फलाम खानी उत्खनन्को समयमा केहीलाई भने आफूहरु विस्थापित हुनुपर्ने हो की भन्ने चिन्ता भने छाएको छ ।

धौवादीको फलामखानी क्षेत्रमा पूर्वाधार विकासमा भने सरकारले विशेष चासो दिएको छ । गएको आर्थिक वर्षमा झ्यालबासदेखि धौवादी फलाम खानी जाने सडक विस्तारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरी ५ किलोमिटरको हाराहारीमा ट्रयाक खोल्ने काम भएको छ ।

चालु आर्थिक वर्षमा समेत ट्रयाक निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन भएको र चाँडै काम सुरु हुने डिभिजन सडक कार्यालय बुटवलका सब–इञ्जिनियर नवीन पाण्डेले जानकारी दिनुभयो । ‘सरकारले यस सडकलाई प्राथमिकतामा राखेको छ’,पाण्डेले भन्नुभयो, ‘चाँडै नै फलाम खानीसम्मको ट्रयाक खोली स्तरोन्नति हुनेछ ।’

धौवादीको १० किलोमिटर क्षेत्रमा पत्ता लागेको फलाम खानीको खानी तथा भूगर्भ विभागको टोलीले दुई चरणसम्म अन्वेषण गरिसकेको छ । खानीको बाहिरी भागमा पाइएको फलामको धाउ खानीको भित्री भागमा पनि त्यहीअनुसार छ छैन, धाउ कस्तो अवस्थाको रहेको छ भन्ने अन्वेषणका लागि आएको टोलीले यहाँको नमुना संकलन गरी परीक्षणका लागि लगेको छ ।

आठ किलोमिटर क्षेत्रमा भौगोलिक अध्ययन र धाउको नमुना संकलन भएको र चालु आर्थिक वर्षमा दुई किलोमिटरको क्षेत्रमा भौगोलिक अध्यन र नमुना संकलनको काम गरिने खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट नारायण बास्कोटाले जानकारी दिनुभयो । भूगर्भविद्हरुको टोलीले दुई चरणमा आठ सय र पाँच सय किलोग्राम गरी १३ सय किलोग्राम धाउको नमुना संकलन गरेका छन् ।

संकलित नमुना चीनको प्रयोगशाला ‘साउथ वेष्ट टेस्टिङ सेन्टर’मा पठाइएको छ । एक किलोग्राम नमुनाको परीक्षणका लागि करिब पन्ध्र दिन लाग्ने भएकाले सम्पूर्ण नमुना परीक्षणका लागि समय लाग्ने बास्कोटाले बताउनुभयो । नमुनाको परीक्षणपछि यहाँको फलामको स्तर कस्तो रहन्छ भन्ने पत्ता लाग्ने उहाँले बताउनुभयो ।

दश किलोमिटरको क्षेत्रमा फेला परेको फलाम खानीको गुणस्तर राम्रो भएमा र यसको सही उत्खनन् गर्न सके देश विकासमा समेत ठूलो टेवा पुग्ने धेरैको आशा रहेको छ ।

फलाम खानीको उत्खनन्ले वर्षाैंसम्म देशका लागि आवश्यक पर्ने फलाम उत्पादन गर्न सकिने र यसले आर्थिक विकास र समृद्ध देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger