Latest Updates :

दुर्गा बञ्जाडे नेपालकै पहिलो महिला सिडियो : यस्तो छ उहाको कामप्रति को आत्मबिस्वास सबैलाइ पारिन चकित


SHARE THIS POST :
अर्घाखाँची जिल्लाले राजनैतिक क्षेत्रमा केन्द्रीय राजनीतिका दुई हस्ती जन्मायो । ती हुन् नेपाल कम्युनिष्ट पार्टीबाट फम्फा भुसाल र नेपाली कांग्रेसबाट पुष्पा भुसाल । कर्मचारीतन्त्रमा पनि अर्घाखाँचीकै एक चेलीले आफ्नो बेग्लै ईतिहास रचेकी छन् । ती हुन्– दुर्गा बञ्जाडे, जो कर्णाली प्रदेशका १० जिल्लामै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर ईतिहास रच्न सफल छिन् ।

उनी कर्णाली प्रदेशमै पहिलोपटक जुम्लाको सिडिओको जिम्मेवारी सम्हालेदेखि उनी चर्चामा छिन् । सिन्धुपाल्चोक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेर गत फागुन– १७ गते जुम्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न पुगेकी हुन उनी अर्घाखाँचीकै निवासी हुन् ।

अर्घाखाँची छत्रदेव गाउँपालिका– ८, मरेङ्गका पशुपति बञ्जाडे र माता कृष्णकुमारी बञ्जाडेकी माईली छोरी हुन्– दुर्गा बञ्जाडे । पहिल्लैदेखि सरकारी सेवामा कार्यरत रहे पनि २०६८ सालमा खुल्ला प्रतिष्पर्धाबाट उनले शाखा अधिकृतमा नाम निकालिन् । उनी प्रशासनिक कार्यभारको जति क्षमता राख्छिन्, त्यति नै सामाजिक कार्यकर्ताको भूमिका पनि निभाउने गरेकी छन् ।

बञ्जाडे जुम्लाको ४० औं सिडिओका रुपमा कार्यभार सम्हाल्न पुगेकी हुन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडे विकट जिल्लामा जनताको सेवा गर्न रुचाउने भएकै कारण जुम्ला रोजेर आएको बतउँछिन् । यस अवसरलाई आफूले चुनौतीकै रुपमा लिएको उनी बताउँछिन् ।

‘प्रचारमा भन्दा काममा विश्वास गर्ने प्र.जि.अ. बञ्जाडे भन्छिन्, ‘म महिला मात्र भएर होइन, सिडिओ समेत भएर मैले आफ्नो जिम्मेवारी निभाउछु । तर पनि पुरुष सिडिओसँग भन्दा म महिला सिडिओ भएको नाताले विशेषतः महिलाहरुले सहज ढंगले आफ्ना घरयासी हिंसा र अन्य संंवेदनशील कुरा राख्न तथा प्रशासनिक सेवा लिन सहज भएको छ कि भन्ने महसुस गरेकी छु ।’

उनको लोकसेवा सपना स्कुले जीवनदेखिकै हो । सरकारी कर्मचारी बन्न पाए सबैको सेवा गर्न सकिने सपना साँचेरै लोकसेवातिर लागेको उनी बताउँछिन् ।

जनप्रशासनमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल र कोरियाबाट जेण्डर एण्ड डेभलपमेन्ट स्टडीजमा स्नाकोत्तर गरेकी बञ्जाडेले शाखा अधिकृत हुनुअघि नै हिमाली जिल्ला जाजरकोटमा बसेर काम गरेको अनुभव सँगालेकी थिइन् ।

सूचना पहुँचमा सहज

सर्वसाधरणसँग सहजै घुलमिल भएर प्रशासनिक सेवा दिने सिडियोका रुपमा स्थानीयमाझ उनी चिनिएकी छन् ।

‘उहाँ आएपछि जुम्ला प्रशासनमा पहिलोपटक वेबसाईट र फेबबुक पेज सञ्जालनमा आयो,’ स्थानीय पत्रकार कृष्णमाया उपाध्याय भन्छिन्, ‘अहिले पूर्ण डिजिटल प्रविधिमा हामीजस्ता पत्रकारले मात्र होइन, सबै नागरिकले सहजरूपमा सूचनाको हकको हक प्रयोग गर्न पाइरहेका छन् ।’

केहि दिन अघि नेपाल पत्रकार महासंघकोे स्थापना दिवसको अवसरमा सहभागी भई उनले सबै कार्यालयमा सूचना अधिकृत तोक्दै पत्रकारहरुलाई मात्र होईन आमनागरिकलाई समेत सुचनाको सहज पहुँच उपलब्ध गराउन निर्देशन दिइन् । यसअघि सुचना अधिकृत तोकिए पनि उनिहरुको सम्पर्क नम्बर, ईमेल केही नहुँदा सूचना लिन गाह्रो थियो ।

‘अहिले सहज रुपमा सुचना पाउन थालेका छौं,’ उपाध्याय भन्छिन् ‘सिडिओ सावले सिन्धुपाल्चोकमा छँदा भूकम्पपीडित महिलाको उद्धारमा निकै महत्वपूर्ण भूमिका निभाउनुभएको हामीले त्यहाँका पत्रकार साथीहरुबाट थाहा पाएका थियौं ।’

सिन्धुपाल्चोकमा छँदा बञ्जाडेले महिलाहरुलाई वैदेशिक रोजगारमा अन्य विवरण नबुझी जान नहुने लगायतका विषयमा कानुनी परामर्श दिएकी थिइन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनले जिल्ला सुरक्षा समितिको सदस्य सचिवको जिम्मेवारी समेत कुशल ढंगले निभाइन् । त्यति बेला महिला कर्मचारी मात्रै भएका नमुना मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारीसमेत बहन गरेकी थिइन् ।

जुम्लामा आएको छोटो समयमै बञ्जाडेले केही उल्लेखनीय काम गरेकी छन् । स्थानीय निकायसँग समन्वय गरेर दुई–दुई स्थानमा सार्वजनिक सुनुवाई राखिन् भने नागरिकका समस्या सुन्दै कानुनी परामर्श सुरु गरिन् ।

आगामी दिनमा अझ धेरै आशा

जुुम्लास्थित रेडियो नारी आवाजकी स्टेशन म्यानेजर दिलमाया शाही भन्छिन्, ‘कर्णालीमा महिला भएर टिक्न गाह्रो हुने थलो हो । जाजरकोटबाट म यहाँ आउँदा दिशा लागेको लुगामा साबुन लगाउन हुँदैन भन्ने अन्धविश्वास थियो । बालविवाह र छुईप्रथा (रजश्वला भएकी महिलालाई छुन नहुने) अहिले पनि व्याप्त छ ।’

उनी थप्छिन्, ‘यस्तो समाजमा पछिल्लो चरण यहाँका महिलाहरुले हिम्मत गर्नुुभयो । २०७४ सालमा माओवादीबाट गोमा कुँवरले चुनाव जितेर राज्यमन्त्रीसम्म हुनु भयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट कान्तिका सिजवाल चन्दनाथ नगरपालिकाको मेयरमा विजयी हुनुभयो । माओवादीबाट अप्सरादेवी न्यौपाने (महत ) पनि उपमेयरमा विजयी हुनुभयो । अहिले सिडिओ मात्र होईन यहाँको प्रहरी निरीक्षक नवीनान ओली समेत महिला नै पाएका छौं ।’

सिडिओका रुपमा बञ्जाडे आउनेबित्तिकै जुम्लाका पत्रकार र आम नागरिकलाई सहज सुचनाको पहुँच बनाइदिनु नै राम्रो काम रहेको शाही बताउँछिन् । जेष्ठ नागरिक, अपाङ्ग, महिलालाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नु अर्को राम्रो काम हो । प्रशासनबाहिर निकै फोहर हुने गर्दथ्यो, अहिले सफा देखिन्छ । आगमी दिनमा उनीबाट धेरै आशा राख्न सकिने स्थानीय बताउँछन् ।

विश्वास जित्नुभएको छ : पूर्वराज्यमन्त्री

जुम्लाकी अगुवा महिला एवं पूर्वराज्य मन्त्री गोमा कुँवरले लैङ्गिक दृष्टिकोणले पनि बञ्जाडे महिला सिडिओ भएर आएकोमा जुम्लाका महिला स्वतः खुशी भएकोे प्रतिकृया दिइन् । उनले भनिन्– ‘पहिला हामी पुरुष सिडिओसँग फोनमा कुरा गर्न सक्दैनथ्यौं । अहिले बिहान पाँच बजेदेखि राति अबेरसम्म पनि उहाँले फोन उठाएर हामीलाई सहयोग पु¥याउनुभएको छ । हाम्रा हरेक विषयमा उहाँ निकै सकारात्मक हुनुहुन्छ ।’

आएको केही महिनामै एकदमै ठिक भन्न नसकिए पनि सुरुआत राम्रो रहेको र सबैको विश्वास जित्नथालेकोले आफूहरु सिडिओ बञ्जाडेप्रति आशावादी रहेको कुँवरको भनाइ छ ।

महिला होईन कर्तव्य सम्झिने हो : मेयर

स्थानीय तहको निर्वाचनमा देशमै पहिलो महिला मेयरका रुपमा निर्वाचित जुम्लाको चन्दननाथ नगरपालिकी मेयर कान्तिका सिजुवालले महिलाहरु केवल महिला नबेर आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्नुपर्ने बताइन् ।

संघर्षसँग जुध्न सके जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने बताउँदै उनले आफ्नो जीवनसाथी गुमाउँदाको पीडा सुनाइन् । ‘२०७० साल फागुन ४ गते अर्घाखाँचीको मसिनेको लेकमा प्लेन दुर्घटनामा परी मेरा श्रीमान् मानव सेजवालको ज्यान गएको थियो,’ भावुक हुँदै उनले भनिन्, ‘उहाँ नेपाली कांग्रेस जुम्लाको पाटी सभापति हुनुहुन्थ्यो । २०५८ साल देखि म पनि नेपाली कांग्रेसमा क्रियाशील भएकाले मैले हिम्मत हारिनँ । उहाँको राजनैतिक यात्रा र सपना पूरा गर्ने अठोट लिएँ । छोराछोरी हुर्काउनु पढाउनु पनि थियो मलाई । त्यसका बाबजुद पनि म गत निर्वाचनमा चुनाव लडँे ।’

विजयी हुँदा आफ्नै पार्टी कांग्रेसका केही मानिसहरूको विरोध र कालो झण्डाको सामना समेत गर्नुपरेको बताउँदै उनी भन्छिन्, ‘अहिले विपक्षी दलका साथीहरुबाट समेत सहयोग र साथ पाएकी छु । जनतको अपेक्षा पुरा गर्ने गरी अगाडि बढेका छौं । सिडिओ साव पनि महिला नै भएर आउनु भएकोमा खुशी छौं ।’

राम्रो नेतृत्व पाएका छौं : सहायक सिडिओ

२२ वर्षदेखि प्रशासनिक सेवाको अनुभव सँगालेका र गत केही महिनादेखि जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका देवेन्द्रप्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बञ्जाडेबाट राम्रो नेतृत्व पाएको प्रतिकृया दिए ।

उमेरले ५३ वर्ष पुगेका उनले पुरुष सिडिओ र महिला सिडिओको भिन्नता दाँज्नै नपाएको र दाँज्न पनि नहुने बताए ।

‘महिला–पुरुषको कुरा हुँदैन, जिम्मेवारी ठुलो कुरा हो,’ उनले भने, ‘उहाँबाट हामीले राम्रो नृतृत्व पाएका छौं ।’ उता सिडिओ बञ्जाडे चाहिँ आफ्नै ड्याडीको उमेरका सिनियर व्यक्ति (सहायक सिडिओ) संग मिलेर गर्न पाएकोमा एकदमै खुशी लागेको बताउँछिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger