Latest Updates :

दुनियाँको मन रुवाउने खबर : दुर्घटनामा श्रीमान-श्रीमतीको एकै चिहान ! पेटबाट मृत छोरा निकालेर बाबुआमासँगै सेतीमा सेलाइयो…..


SHARE THIS POST :
 रोजगारीका लागि भारतको चेन्नई गएका डोटी शिखर नगरपालिका वडा नं. ११ तल्लीसातका २५ वर्षीय शंकर जोरा तिहारको पर्सिपल्ट मात्र घर फर्किएका थिए । गर्भवती श्रीमती गंगाले प्रसूति हुने समय नजिकै आएको भन्दै उनलाई फोन गरी बोलाएकी थिइन् । श्रीमती गंगा प्रसूतिको समयमा श्रीमान आफूसँगै होउन् भन्ने चाहन्थिन् । भारतबाट घर आएपछि शंकरले श्रीमतीलाई जचाउन उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगे ।

डाक्टरले उनलाई एक हप्तापछि फेरि जचाउन आउन सल्लाह दिए । उनीहरु अस्पतालबाट फर्किए, तर घर कहिल्यै नपुग्ने गरी । बिहीवार डडेल्धुराको अमरगढी नगरपालिका-११ रडुवामा भएको से १ क २९३ नम्बरको स्कुल बस दुर्घटना हुँदा श्रीमान-श्रीमतीको एकै चिहान भयो । पोष्टमार्टम गर्दा डाक्टरले गंगाको पेटबाट मृत बच्चा (छोरा) निकाले । शुक्रबार शंकर र गंगासँगै शिशुलाई पनि सेती नदीमा सेलाइयो ।

खोसियो सहारा – रोजगारीका लागि भारत गएका शंकरका बुवा डम्मर जोराको गत वर्ष भारतमै निधन भएको थियो । बुवाको निधनपछि बुढी आमा र नावालक दुई भाइको पालन पोषणको सम्पूर्ण जिम्मेवारी शंकरको काँधमा थियो । उनले त्यो जिम्मेवारी त पूरा गर्न पाएनन् नै नाती-नातिनाको मुख हेरेर मर्ने आमाको सपना पनि अधुरै रह्यो । सोही गाउँका योगेन्द्र वोहरा पनि गर्भवती श्रीमती हरिनालाई जचाउन उपक्षेत्रीय अस्पताल गएका थिए ।

फर्किदा अरु गाडी नपाएपछि उनी पनि सोही बसमा चढेछन् । उनको पनि ज्यान गयो । दुर्घटनामा परी घाइते भएकी हरिनाले अस्पतालको शैयामा श्रीमानलाई कुर्दै छिन् । उनको खुट्टा भाँचिएको छ । भारतमै रोजगारी गर्ने योगेन्द्र पनि तिहार मान्न घर आएका थिए । योगेन्द्रका बुवा पदम बोहरा दमका रोगी छन् । भारतमै जागिर गरेर उनले भाइलाई आवासीय विद्यालयमा पढाउँदै थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफू पढ्न नपाएका योगेन्द्र भाइ पढेर ठूलो मान्छे होस् भन्ने चाहन्थे । तर, आफ्नो सपना पूरा गर्न नपाउँदै उनी अनन्त यात्रामा गए ।

श्रीमती हरिनाको हेरचाहका लागि उनका माइती पक्ष अस्पतालमा छन् । डडेल्धुरामा भएको उक्त दुर्घटनाले मृतकका परिवारलाई मात्रै होइन, डोटीको शिखर नगरपालिकालाई नै शोकमा डुबाएको छ । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । तिमध्ये शंकर दम्पत्ति र योगेन्द्रसँगै शिखर नगरपालिकाका मात्रै ६ जनाले ज्यान गुमाए । १० जना घाइते छन् । शिखर नगरपालिका-८ का ४० वर्षीय कैलाश रावल उग्रतारा माईको दर्शन गर्न गएका थिए । उनीसँगै १५ वर्षीया छोरी सोनिया पनि थिइन् । भुपू सैनिक कैलाशले दुर्घटनास्थलै दम तोडे । छोरी सोनिया अस्पतालको शैयामा छट्पटाइरहेकी छिन् ।

उनी बाबा आउने बाटो हेर्दैछिन् । सोही गाउँका ४० वर्षीय योगेन्द्र रावलले पनि उक्त घटनामा ज्यान गुमाए । भारतमा काम गर्ने योगेन्द्र तिहार मनाउन घर आएका थिए । उग्रतारा माताको मेलामा गएका उनले पक्कै पनि आफ्नो र आफ्नो परिवारको सखशान्ति र दीर्घायूको कामना गरेथे होलान् तर उग्रतारा माताले सुनिनन् उनको पुकार । नाबालक लालाबाला छोडेर उनी पनि कहिल्यै नफर्किने गरी गए ।

सोही वडाकी २० वर्षीया शारदा राउतले पनि उक्त दुर्घटनामा ज्यान गुमाइन् । शारदा स्थानीय राधाकृष्ण माबिमा कक्षा १२ की छात्रा हुन् । भुपू प्रहरी सहायक निरीक्षक लोगबहादुर राउत छोरी शारदामा धेरै सम्भावनाहरु देख्थे । छोरी पढेर ठूलै मान्छे हुने सपना देख्थे उनले । तर निस्ठुरी बन्यो दैव । उग्रतारा माताले जीवन रक्षा गरुन् भन्दै मेला भर्न गएकी शारदाको जीवन पनि छिट्टै खोसियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger