छात्राको गुनासो सुनेका शिक्षक यादवले कक्षा ७ का १३ वर्षीय विद्यार्थी अजय मण्डलसहित केही विद्यार्थीलाई कक्षाबाहिर बोलाए । अरूलाई पठाएपछि अजयलाई पिट्न थाले । पछि हप्काएर उनलाई ‘घर जाऊ’ भन्दै पठाइदिए । त्यसपछि शिक्षक यादवले घाम ताप्दै कक्षा लिँदै गरेका प्रधानाध्यापक सुकदेव यादवलाई घटनाबारे सुनाए ।यसबारे प्रधानाध्यापकले खासै प्रतिक्रिया त्यसमा जनाएनन् । ‘शिक्षक र छात्राको प्रतिष्ठासित जोडिएकाले विद्यार्थीलाई सचेत गराउनु जायज ठानेर सुधारका लागि थोरै पिटे, धेरै होइन,’ प्रअ यादवले भने, ‘हामीले विद्यार्थीलाई कसरी अनुशासनमा राख्ने ? भवितव्यले त्यस्तै भइदियो भने हाम्रो के दोष ?’प्रअ यादवका अनुसार विद्यार्थी अजय कक्षामा चुलबुले स्वभावका थिए । उनी पढाइमा सामान्यखाले विद्यार्थी थिए ।
उनी भन्छन्, ‘घरमा समेत उनी डरको दबाबमा परे । विद्यालयमा समेत पिटाए खाए । घरमा सबै पोल खुल्छ कि भनेर थप तनावमा आइसकेको हुनुपर्छ ।’ अजयको मृत्यु र विद्यालयमा उनी पिटिइनु संयोग भएको प्रअ यादव बताउँछन् । पिटिइएकै केही घण्टापछि अजयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । शिक्षक सोनालालले पिटेपछि साइकल चढेर फर्किएका अजय घरमा बान्ता गर्दै बेहोस थिए । बेहोस अवस्थामा उनलाई अस्पताल पुर्याइएको थियो ।
मृत्युको कारणबारे अस्पतालबाट परीक्षण रिपोर्ट नआएकाले प्रहरी र परिवार अन्योलमा छन् । अजयको परिवारले पिटाइबाटै मृत्यु भएको आरोप लगाउँदै आएको छ ।प्रहरीले किटानी जाहेरी लिएको छैन । ज्यान कसुरसम्बन्धी उजुरी दिन दबाब दिएको पीडित परिवारले जनाए । प्रत्यक्षदर्शी, शिक्षकलगायतसँग प्रहरीले सोधपुछ जारी राखेको छ । पिट्ने शिक्षक सोनालाल फरार छन् । प्रअको भनाइमा अजयको परिवार सहमत छैन ।‘छोरा हाँसीखुसी विद्यालय गएका थिए । माछाभात खाएर हिँडेका थिए । तर त्यस्तो केही समस्या उसलाई थिएन,’ अजयकी आमा कोसिलाले भनिन्, ‘छोरो सधैं आफैं विद्यालय जाने गरेका थिए । हामीलाई न्याय चाहिन्छ ।
’सोही वडाका जवाहर मण्डलले विद्यार्थी पिट्ने शिक्षक सोनालाल यादव चाँडै आक्रोशित हुने स्वभावको भएको बताए । ‘हाम्रो खेत छेउमै उहाँको खेत छ, कहिलेकाहीं खेतमा आउँदा बालीनाली नोक्सानी भएको बेला अपशब्द प्रयोग गर्ने र लठैत स्वभाव देखाउनुहुन्छ,’ जवाहरले भने । विद्यालय स्रोतका अनुसार शिक्षक सोनालाल कडा स्वभावका छन् ।
Post a Comment